स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा, १० साउन । सिरहा जिल्लाको लहान नगरपालिका–३, अस्पताल चोक नजिकै स्रोत नखुलेको नगद १० लाख एक हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाबाट खटिएको चेक प्वाइन्ट टोलीले लहानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँचका क्रममा राहुल कुमार नामका भारतीय नागरिकलाई ठूलो मात्रामा नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको लौकाहा बजार निवासी अन्दाजी २४ वर्षीय राहुल कुमार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।
इनरुवाबाट लहानतर्फ आइरहेको बसमा सवार कुमारको साथबाट स्रोत नखुलेको नेपाली नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसँगै विदेशी नागरिकको संलग्नता देखिएपछि सुरक्षा निकायले यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


