सप्तरी, १० साउन । सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२, पौवाँमा सिटीरिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । शुक्रबार राति भएको घटनामा स्थानीय ४५ वर्षीय बालेश्वर मण्डल र उनकी ३५ वर्षीया पत्नी रामकुमारी खंगको ज्यान गएको हो ।

प्रहरीका अनुसार मण्डल दम्पतीको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । सिटीरिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेको र त्यसपछि श्रीमान्लाई जोगाउन खोज्दा श्रीमती पनि करेन्टको चपेटामा परेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीका अनुसार कानुनी प्रक्रिया पूरा गरी दुबैजनाको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ ।

स्थानीयको भनाइअनुसार राति नै दम्पतीको मृत्यु भए पनि बिहान छोराछोरीले अबुझ अवस्थामा शव देखेपछि छिमेकीलाई खबर गरेका थिए । त्यसपछि मात्र प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।