खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

सिरहा, १० साउन । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसुण्डी जाने बाटोमा खैरो हिरोइनसहित एक भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गर्दै पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा लागुऔषध ओसारपसार भइइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोली खटिएको थियो ।
टोलीले भारतबाट नेपालतर्फ आइरहेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक फरार हुन खोजेपछि प्रहरी नायब निरीक्षक रामबालक ठाकुरले टाइप–७७ पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेका थिए ।
गोली प्रहारपछि पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको बिरपुर ग्रामपंचायत–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेको प्रहरीले पुष्टि गरेको छ । उनको साथबाट करिब ५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
पक्राउ परेका पासवानलाई बरामद लागुऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


