जनकपुरधाम, १० साउन । धार्मिक र ऐतिहासिक महत्व बोकेको दुधमती नदीको संरक्षण तथा सफाइ अभियानले शनिबार ६ वर्ष अर्थात् ३०० हप्ता पुरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

जनकपुरधाम–२२ स्थित पण्डाघाट बसबिट्टामा आयोजित सो कार्यक्रममा ‘पञ्चपल्लव वाटिका’ को पनि औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

२०७६ कात्तिक २३ गतेदेखि सुरु भएको साप्ताहिक सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहँदै आइपुगेको छ । ऐतिहासिक नदीको सौन्दर्यीकरण तथा संरक्षणमा समर्पित अभियानको समीक्षा, उपलब्धिहरू र आगामी योजना तय गर्न शनिबारको कार्यक्रममा विशेष छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गरेका थिए । समारोहमा प्रदेशसभा सदस्य रामआशिष यादव, वनविज्ञ गणेश राय, जनकपुरधाम उपमहानगरपालिका–२२ का वडा अध्यक्ष बिमलेश मिश्र र वातावरणविद् सुरेश शर्मा विशेष अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रम दूधमती नदी सरोकार समाजको आयोजनामा सम्पन्न भएको हो । समाजका अध्यक्ष सुदीप मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रम अभियानी आनन्द सहनीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले विगत ६ वर्षमा नदी सरसफाइ अभियानले पुर्याएको योगदानको सराहना गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा अगाडि बढ्नुपर्ने सुझाव दिए । सहभागीहरूको सुझाव र सल्लाहले अभियानीहरूलाई थप ऊर्जा दिएको आयोजकको भनाइ छ ।

स्थानीय बृक्षको शीतल छायाँ र प्रकृतिको सौन्दर्यले भरिएको वातावारणमा सम्पन्न कार्यक्रमले दूधमती नदी संरक्षण अभियानप्रति स्थानीयको आकर्षण र समर्थन अझ सशक्त बनाएको देखिएको छ ।