श्रद्धाको सागर फोहोरको दलदलमा

जनकपुरधाम, ९ साउन । जनकपुरधामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको घनुष सागर यतिबेला फोहोर र दुर्गन्धको थलो बन्दै गएको छ । पुरातात्त्विक महत्त्व बोकेको यस पोखरीको गम्भीर अवहेलना र संरक्षणको अभावप्रति स्थानीय नागरिक र सरोकारवालाहरू चिन्तित देखिएका छन् ।
गणेश युवा कमिटीको छेउबाट खिचिएको माथि देखिएको तस्वीरमा पोखरीको एक छेउमा थुप्रिएको प्लास्टिक, बोतल, कुहिएको फोहोर र अन्य अपशिष्टहरूले जल स्रोतको अवस्था भयावह बनाएको देखिन्छ । शहरको बीच भागमा रहेको घनुष सागरको यो अवस्था हेर्दा स्थानीय तह र सम्बन्धित निकायको लापरवाही प्रस्ट देखिन्छ ।
जनकपुरधामका प्रमुख सागरहरूमध्ये एक घनुष सागर हिन्दू धर्ममा अत्यन्त पवित्र मानिन्छ । जनकपुर भ्रमणमा आउने तीर्थालु तथा पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिने यस स्थलको यति बेहाल अवस्था हुनु आफैंमा चिन्ताको विषय बनेको छ । धार्मिक पर्वहरूमा हजारौँ श्रद्धालुहरू यही सागरमा स्नान गरी पूजा–अर्चना गर्ने गर्दछन् ।
धनुष सागर सफाइको जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिका र पुरातत्व विभागको जिम्मा भए पनि वर्षौंदेखि सफाइ र संरक्षणको दीर्घकालीन योजना नबनाइएको स्थानीयहरू बताउँछन् । पटक–पटक समितिहरू बनाइए पनि त्यसको परिणाम देखिएको छैन । पानीको सतह घट्दै जानु, सागरको मूल मुहानहरूमा निर्माण कार्यले अवरोध आउनु र फोहोर व्यवस्थापन नहुनु प्रमुख समस्या हुन् ।
स्थानीय युवा अर्जुन साह भन्छन्, ‘हामी गणेश युवा कमिटी छेउबाट दैनिक यो दृश्य हेर्छौं । शहरकै गौरव मानिने घनुष सागर यति प्रदूषित छ कि यहाँ सास फेर्नै मुस्किल हुन्छ । के यही हो संस्कृति संरक्षण भन्ने कुरा?’ उनका अनुसार युवाहरूले केहीपटक सफाइ अभियान थाले पनि स्थानीय तहको असहयोगका कारण निरन्तरता दिन सकिएको छैन ।
घनुष सागर केवल धार्मिक धरोहर मात्रै नभई पर्यटनको ठूलो सम्भावना बोकेको स्रोत हो । यसको समुचित संरक्षण र सौन्दर्यकरण हुन सके यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ । तर, त्यसका लागि साच्चिकै राजनीतिक इच्छाशक्ति, प्रशासनिक सक्रियता र जनसहभागिता आवश्यक छ ।
तत्काल फोहोरमैला व्यवस्थापन, मूल स्रोत संरक्षण र पानीको निकासको प्रवाह पुनःस्थापना गरिएन भने घनुष सागर इतिहासको किताबमा मात्र सीमित हुनेछ । पोखरीमा बढ्दो प्रदूषणले पारिस्थितिक प्रणालीलाई समेत असर पुर्याइरहेको छ ।
तस्बिर: घनश्याम मिश्रा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


