जनकपुरधाम, ९ साउन । मधेश प्रदेशमा चर्को गर्मीसँगै पानीको गम्भीर अभाव र नेपाल विद्युत् प्राधिकरणको लापरवाहीले जनजीवन अस्तव्यस्त बनेको छ ।

एकातिर सुक्खाका कारण पिउने पानीको अभाव, अर्कोतिर बारम्बारको अघोषित लोडसेडिङले स्थानीयवासीहरू दोहोरो मारमा परेका छन् ।

प्रदेशका अधिकांश जिल्लामा बिहान र बेलुकाको अत्यावश्यक समयमा अनियमित विद्युत् कटौती हुँदा घरायसी कामकाजदेखि विद्यालय, अस्पताल र कार्यालयहरू समेत प्रभावित भएका छन् ।

जनकपुरधाम उपमहानगरका विभिन्न वडाहरूमा दैनिक दुईदेखि चार घण्टासम्म विद्युत् अवरुद्ध हुने गरेको स्थानीयहरूको गुनासो छ । कतिपय स्थानमा त दिनमा दुई–तीन पटकसम्म लाइन काटिनु सामान्यजस्तै भएको छ ।

विद्युत् आपूर्ति हुँदा पनि कम भोल्टेजको समस्या समाधान नभएकाले पङ्खा, एसी, फ्रिज, वाटर पम्पजस्ता उपकरणहरू चलाउन मुस्किल भएको उपभोक्ताको भनाइ छ । ‘लाइन काट्नुअघि कुनै सूचना दिइँदैन, फोन गर्दा पनि सम्पर्क हुन्न, यो लापरवाही हदभन्दा बढी भयो,’ जनकपुरधामका स्थानीय रामबाबु ठाकुरले गुनासो गरे ।

पर्सा, सिरहा, सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा पनि यही अवस्था दोहोरिएको छ । विशेषतः बिहान र साँझ विद्युत् अवरुद्ध हुँदा साना बालबालिकादेखि वृद्धसम्म प्रभावित भएका छन् । स्थानीय व्यवसायी सुभाष ठाकुर भन्छन्, ‘विद्युत्को यति अनियमित आपूर्ति चर्को गर्मीमा जनस्वास्थ्यका लागि नै खतराको विषय हो ।’

पानी र विद्युत् दुबै अभावले आक्रान्त बनेका नागरिकहरू स्थानीय तह र सम्बन्धित निकायसँग तत्काल समस्या समाधानको माग गरिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुखसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन । तर, स्थानीयवासीहरूले सरकार र प्राधिकरणको ध्यान तत्काल समस्यातर्फ जाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।