सुक्खाग्रस्त तराई–मधेशप्रति राष्ट्रिय मुक्ति पार्टीको चासो

जनकपुरधाम, ९ साउन । तराई–मधेशमा फैलिएको सुक्खाग्रस्त अवस्थाप्रति राष्ट्रिय मुक्ति पार्टी नेपालले चासो व्यक्त गर्दै यसलाई केवल प्राकृतिक विपद् नभई राज्यको दीर्घकालीन उपेक्षा र शोषणको परिणामको रूपमा ब्याख्या गरेको छ ।
पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुक्खाका कारण तराई–मधेश ‘अन्नहीन, जलहीन र भविष्यहीन’ बन्दै गएको उल्लेख गर्दै चेतावनी दिएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालले यदि तत्काल गम्भीर पहल गरिएन भने सामाजिक अस्थिरता र राष्ट्रिय अर्थतन्त्रमा ठूलो संकट उत्पन्न हुन सक्ने जनाएको छ ।
‘यो केवल पानीको संकट होइन, यो अस्तित्वकै संकट हो,’ विज्ञप्तिमा भनिएको छ, ‘भूमिगत जल पुनःभरण नहुनु, चुरे दोहन, सिँचाइको अव्यवस्था र घट्दो वर्षाका कारण तराई–मधेश जलविहीन मरुभूमितर्फ उन्मुख भइरहेको अवस्था छ ।’
पार्टीले खेतबारी सुक्न थालेको, इनार–चापाकल सुक्दै गएको, पशुपालकलाई चारा पाउन मुस्किल भएको र स्थानीयवासी पिउने पानीकै लागि आकाश ताकेर बस्न बाध्य भएको भयावह अवस्थाको वर्णन गर्दै राज्यको संवेदनहीनताप्रति आलोचना गरेको छ ।
पार्टीले सुक्खा प्रभावित जनताको राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारसँग पाँच बुँदे माग अघि सारेको छ । सुक्खा प्रभावित क्षेत्रलाई ‘राष्ट्रिय संकट’ घोषणा गरियोस् र तत्काल खाद्यान्न, पानी, चारा र औषधि वितरण गरियोस्, किसानका कर्जा माफीसहित बीउ, मल, औजार निःशुल्क दिइने पुनःस्थापना योजना ल्याइयोस्, कृषि विद्युत् र खानेपानी उपकरणमा भन्सार छुट दिइयोस् र विद्युत आपूर्ति सुनिश्चित गरियोस्, राहत वितरणलाई राजनीतिकरण नगरी मानवीय संकटको रूपमा सम्बोधन गरियोस्, चुरे संरक्षण, जलस्रोत व्यवस्थापन र जलवायु–अनुकूल कृषि नीति अवलम्बन गरियोस्लगायतका मागहरू पार्टीको छ ।
राष्ट्रिय मुक्ति पार्टीले संकटको मूल कारण नै राज्यको असंवेदनशीलता भएकाले सरकारले अब गम्भीर चासो नदिए देश अस्थिरतातर्फ अघि बढ्न सक्ने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


