महोत्तरी, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खडेरीका कारण संकटमा परेका किसानका लागि संघ सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने माग गरेका छन् ।

शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले बारा, पर्सा लगायत प्रदेशका १३६ वटै स्थानीय तह खडेरीको चपेटामा परेको बताए ।

‘पिउने पानीसमेत अभाव छ, खेतहरू सुक्दै गएका छन्,’ मुख्यमन्त्री सिंहले भने, ‘खेतीयोग्य जमिन बाँझो बस्न थालेको छ । रोपाईं गम्भीर रूपमा प्रभावित भएको छ ।’

उनका अनुसार मधेश प्रदेश अन्न उत्पादनको मुख्य केन्द्र भए पनि हालसम्म ५० प्रतिशतभन्दा कम मात्र रोपाईं सम्पन्न भएको छ । ‘मधेश संकटग्रस्त अवस्थामा पुगेको छ,’ उनले भने, ‘सिंगो प्रदेशको बजेट प्रयोग गर्दा पनि अहिलेको समस्या समाधान हुन सक्दैन । संघ सरकारले विशेष पहल गर्नैपर्छ ।’

मुख्यमन्त्री सिंहले किसानको राहतका लागि संघ सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । साथै, बोरिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी पनि उनले दिए ।

‘पानीको चरम अभावले न नागरिकलाई पिउने पानी पुगिरहेको छ, न खेतमा सिँचाइ गर्न सकिएको छ,’ उनले भने, ‘अब संघ सरकारले दीर्घकालीन समाधानसहित ठूला राहत प्याकेज ल्याएर मधेश बचाउने जिम्मेवारी लिनुपर्छ ।’