प्रेस जनमत संघको बैठकबाट ९ बुँदे ‘जनकपुरधाम घोषणा पत्र’ जारी

जनकपुरधाम, ९ साउन । जनकपुरधाममा सम्पन्न प्रेस जनमत संघको केन्द्रीय समिति बैठक तथा प्रशिक्षण कार्यक्रमबाट ‘जनकपुरधाम घोषणा पत्र २०८२’ जारी गरिएको छ ।
साउन ८ र ९ गते संघका अध्यक्ष अवधेशकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष डा. जयकान्त राउत, मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, वनमन्त्री संजय कुमार यादव, पार्टी प्रवक्ता डा. शरदसिंह यादवलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
घोषणा पत्रमा संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरणदेखि मधेशमाथिको सञ्चार विभेद अन्त्यसम्मका विषय समेटिएका छन् । बैठकले पत्रकारिता क्षेत्रको अधिकार, सुरक्षा, संरचना र नीतिगत सुधारका लागि ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्रेस जनमत संघले संघीय लोकतान्त्रिक व्यवस्थाको मजबुती र ‘नौलो गणतन्त्र’को अवधारणा अघि सारेको छ । संघले संघीयता विरोधी गतिविधिको विरोध गर्दै गणतन्त्रलाई व्यवहारिक र जनउत्तरदायी बनाउने दिशामा सक्रिय हुने बताएको छ ।
त्यस्तै, पत्रकारहरूको पेशागत र भौतिक सुरक्षामा गम्भीर चुनौती रहेको भन्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको सुनिश्चितता र पत्रकारहरूलाई अनावश्यक रूपमा रोजगारीबाट हटाउने कार्य रोक्न कानुनी संरचना बनाउन माग गरिएको छ ।
प्रेस काउन्सिल नेपाल अझै केन्द्रिकृत ढाँचामा सीमित रहेको भन्दै त्यसमा संघीयता कार्यान्वयन गर्नुपर्ने र मधेशका सञ्चारमाध्यमप्रति हुने विभेद तत्काल अन्त्य गर्नुपर्ने भनिएको छ । पत्रपत्रिका वर्गीकरणको अधिकार मधेश मिडिया काउन्सिलमा हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ ।
नेपाल पत्रकार महासंघभित्र सदस्यता वितरणमा भइरहेको विभेदप्रति आपत्ति जनाइएको छ । महासंघका शाखा, प्रदेश समिति र केन्द्रले निष्पक्ष, विधिसम्मत तरिकाले योग्य पत्रकारलाई सदस्यता दिनुपर्ने सुझाव दिइएको छ ।
त्यस्तै, संघीय सरकार मातहत सञ्चालित सञ्चारमाध्यमहरूमा समाचार सामग्री, सञ्चारकर्मी नियुक्ति र सम्प्रेषणमा समावेशिता नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै मधेशसम्बन्धी विषयवस्तुलाई प्राथमिकता दिन माग गरिएको छ ।
काठमाडौं केन्द्रित सञ्चारमाध्यमहरूले मधेश र संघीयताको मर्म अनुसार काम नगरेको भन्दै मधेश प्रदेश सरकारले आफ्नै मिडिया हाउस स्थापना गर्नुपर्ने सुझाव दिइएको छ ।
लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गरी प्रभावकारीरूपमा सञ्चालन गर्न र सञ्चारकर्मी लक्षित बीमा कार्यक्रम (दुर्घटना, स्वास्थ्य, जीवन) कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
भदौ १ गतेदेखि मधेशका जिल्लाबाट संघको संगठन विस्तार अभियान प्रारम्भ गरिने र क्रमशः अन्य प्रदेशहरूमा विस्तार गरिने जानकारी दिइएको छ ।
त्यस्तै, जनकपुरधाममा संघको केन्द्रीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । सचिव ललन मण्डलको संयोजकत्वमा मनोज मोरबैता र चन्दन रजक सदस्य रहने गरी सचिवालय गठन गरिएको छ ।
यस घोषणापत्रमार्फत प्रेस जनमत संघले मधेश केन्द्रित पत्रकारिता संरचनाको मजबुती, पत्रकार सुरक्षाको प्रत्याभूति र संघीय मिडिया नीति निर्माणतर्फ पहलको आह्वान गरेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


