डिप बोरिङबाट मधेशको जमिन हराभरा बनाउने योजना

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त बनेको मधेशमा सिँचाइ सुविधा विस्तार गर्न ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पानीको अभावका कारण मधेश कृषिमा गम्भीर असर परेको भन्दै तत्कालीन राहतस्वरूप डिप बोरिङ जडान सुरु गरिने जानकारी दिए ।
‘एक डिप बोरिङबाट झण्डै ६० बिघा क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५ सय डिप बोरिङमार्फत तत्काल समस्या समाधान गर्नेछौँ ।’
सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको उल्लेख गर्दै उनले घोषणा मात्रै गरेर बस्ने नभई दीर्घकालीन र तत्कालीन दुवै उपायबाट काम थालिएको बताए ।
‘चुरे क्षेत्रमा पानी जम्मा गर्ने, तालतलैया निर्माण गर्ने, जमिनको सतहको पानी तल जान नदिने काम अगाडि बढाएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘सरकारका सबै निकाय र गैरसरकारी क्षेत्रलाई यस अभियानमा हातेमालो गर्न आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले सिँचाइको दीर्घकालीन समाधानका लागि संरचनागत पहल आवश्यक रहेको उल्लेख गर्दै ८ वटै जिल्लालाई समेट्ने गरी कार्य योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
मधेशमा पछिल्ला वर्षहरूमा वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझो बस्न थालेको, कृषकहरू संकटमा परेको र खाद्य सुरक्षामा समेत चुनौती देखिएको अवस्थामा प्रधानमन्त्रीको यो घोषणा महत्वपूर्ण मानिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


