खडेरीग्रस्त मधेशमा डिप बोरिङ जडान सुरु

जनकपुरधाम, ८ साउन । लामो समयदेखि खडेरीको चपेटामा परेको मधेश प्रदेशमा खानेपानीको गम्भीर संकट समाधान गर्न प्रदेश सरकारले डिप बोरिङ जडानको कार्य सुरु गरेको छ ।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको अगुवाइमा यो अभियान धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा पहिलोपटक थालिएको हो ।
साउने सोमबारको मेलामा श्रद्धालु तथा स्थानीयवासीलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यसहित बोरिङ जडान कार्य अघि बढाइएको हो । बिहीबार एक विशेष कार्यक्रमबीच ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवको प्रमुख आतिथ्यमा तथा मन्दिरका पुजारी राधामोहन दासको वैदिक विधिपूर्वक पूजापछि बोरिङको काम औपचारिक रूपमा सुरु गरिएको हो ।
मन्त्री यादवले भने, ‘संसाधन सीमित भए पनि जनताको आवश्यकता अनुसार प्राथमिकता तोक्दै खानेपानीका लागि डिप बोरिङ जडानको काम सुरु गरेका छौं ।’ उनले हालको अवस्था हेर्दा सिँचाइभन्दा पनि खानेपानीलाई प्राथमिकता दिनुपर्ने अवस्था आएको स्पष्ट पारे ।
स्थानीयवासीहरूले खानेपानी र सिँचाइ अभावको गुनासो गर्दै विभिन्न वडामा डिप बोरिङ जडानको माग गर्दै आएका थिए । प्रदेश सरकारले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरे पनि राहत प्याकेज अझै नआएको स्थानीयले गुनासो गरेका छन् ।
प्रदेश सरकारले प्रारम्भिक चरणमा प्रत्येक वडामा कम्तीमा एकवटा डिप बोरिङ जडान गर्ने योजना अघि सारेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


