मोबाइलमा देखिएको फोटोबाट खुल्यो रहस्य, कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही, ८ साउन । सर्लाहीको मलंगवामा ट्राफिक जाँचको क्रममा मोबाइलमा देखिएको शंकास्पद तस्बिरका आधारमा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँचमा परेका उनीहरूलाई प्रहरीले साउन ७ गते नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–८ स्थित गोरखकाली चेकपोस्टमा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोली सवारी जाँच गरिरहेका बेला भारतको बीआर ३० ए १०७१ नम्बरको मोटरसाइकल रोकेर चालकसँग कागजात मागिएको थियो । चालक मोहन पासवानले मोबाइलमा फोटो देखाएर कागजात भएको बताएपछि प्रहरीले मोबाइल जाँच गर्दा त्यही मोबाइलमा एक १२ वर्षीय बालकले कटुवा पेस्तोल बोकेको तस्बिर फेला पारे ।
तस्बिरका आधारमा सोधपुछ गर्दा पेस्तोल रामहुलास पासवानको भएको खुल्न आएको र त्यसपछि मोहनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । मोहनको बयानका आधारमा प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वमा टोली परिचालन भई सोही राति साढे ९ बजे रामहुलासलाई सुखैनियास्थित उनको घरबाट पक्राउ गरिएको हो ।
अनुसन्धानका क्रममा रामहुलासको घरको पूर्वपट्टिको भित्तामा कपडाले बेरेर लुकाइएको कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै व्यक्तिमाथि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार हतियारको स्रोत र त्यसको सम्भावित प्रयोगबारे समेत अनुसन्धान जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


