सप्तरी, ८ साउन । पछिल्ला पाँच दिनभित्रै सप्तरी जिल्लामा चारजनाको रहस्यमय मृत शरीर फेला परेपछि स्थानीयवासीहरू चिन्तित भएका छन् । प्रहरी प्रशासनले घटनाहरूलाई गम्भीर रूपमा लिँदै अनुसन्धान तीव्र बनाएको छ ।

पछिल्लो घटना बुधबार राजगढ गाउँपालिका–५ मलेकपुर कामत टोलमा भएको हो । त्यहाँ एक अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा धानखेतमा भेटिएका छन् । शव स्थानीय गुलाब सिंहको खेतमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । तर, शारीरिक बनावट र लुगाफाटो हेर्दा मुस्लिम समुदायको जस्तो देखिएको प्रारम्भिक अनुमान गरिएको छ ।

यसअघि मङ्गलबार सोही पालिकाको वडा नम्बर–३ मा विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव आफ्नै ससुराली घरमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । शव शंकास्पद देखिएपछि पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

त्यसै दिन अग्निसाई कृष्णासवरण गाउँपालिका–३ मट्टिगढास्थित रामजानकी टोलमा २२ वर्षीय गोलु चौधरी (कृष्णकुमार चौधरी) मृत फेला परेका थिए । उनी स्थानीय बलराम चौधरीका छोरा हुन् ।

यसअघि शनिबार राजविराज नगरपालिका–८ हिमालय टोलमा कृष्ण पोखरेलको घरमा डेरा गरी बस्दै आएकी २९ वर्षीया ऋतु पौडेल झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले सबै घटनालाई अलग–अलग कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । पाँच दिनमै चार शव फेला परेपछि स्थानीयमा त्रास बढेको छ भने समाजमा आत्महत्या र शंकास्पद मृत्युसम्बन्धी चेतनामूलक कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ ।