राष्ट्रिय झण्डाले सौन्दर्य थप्दा स्थानीय उत्साहित

सर्लाही, ८ साउन । सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित संग्रामपुर मुख्य चौकमा हालै सौन्दर्यकरणको उद्देश्यसहित फहराइएको राष्ट्रिय झण्डाले स्थानीयको ध्यान तानिरहेको छ ।
आकर्षक शैलीमा गरिएको झण्डोत्तोलनपछि चौकको दृश्य थप मनमोहक बनेको छ । यसले नजिकैका गाउँ मात्र नभई छिमेकी भारतबाट समेत आगन्तुकहरूलाई आकर्षित गरिरहेको छ । तस्बिर खिच्न आउनेहरूको चहलपहलले चौकको रौनक बढाएको छ ।
वडास्तरबाट गरिएको यो सानो प्रयास स्थानीयस्तरमै सार्वजनिक स्थानको सौन्दर्य वृद्धि गर्न सकिने प्रेरणादायी नमुना बनेको भन्दै सर्वसाधारणले प्रसंसा गरेका छन् । ‘सामान्य लगानीमै ठुलो प्रभाव पार्न सकिन्छ भन्ने देखिएको छ,’ एक स्थानीय युवाले भने ।
तर, त्यही गाउँभित्र रहेको ऐतिहासिक र धार्मिक महत्त्वको स्थल सतिबिहुलाधाम भने अझै पनि उपेक्षित अवस्थामा रहेको स्थानीयवासीहरूको गुनासो छ । जिल्लाकै पुरानो तीर्थस्थलका रूपमा चिनिने यो धर्मस्थलमा श्रद्धालुहरूको भीड लाग्ने गरे पनि संरचना निर्माण, पूर्वाधार विस्तार र प्रचारप्रसारमा राज्यको ध्यान नपुगेको जनाइएको छ ।
हाल सतिबिहुलाधामको विकासका केही प्रयास देखिए पनि ती रणनीतिक सोचविना अलपत्र अवस्थामा छन् । धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रलाई व्यवस्थित ढंगले संरक्षण र प्रवद्र्धन गर्न नसकिँदा यसको सांस्कृतिक र आस्थिक पहिचान ओझेलमा परेको स्थानीय धार्मिक अगुवा र बुद्धिजीवीहरू बताउँछन् ।
स्थानीयले वडास्तरबाट देखिएको सक्रियताको सरह नगर, प्रदेश र संघीय सरकार पनि सतिबिहुलाधामको दीर्घकालीन योजनासहित संरक्षण र विकासमा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


