जनकपुरधाम, ८ साउन । धनुषाको सबैला नगरपालिकामा पोखरीमा डुबेर सात वर्षीय बालकको ज्यान गएको छ ।

बुधबार बिहानदेखि बेपत्ता रहेका सबैला–१० खरियानी निवासी खुसिया कापरका छोरा सचिन कापरको शव बिहीबार बिहान घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार बालकको शव बिहान करिब १० बजेतिर पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । सचिन बुधबार बिहान ११ बजेदेखि हराइरहेका थिए । परिवारजन र स्थानीयले रातभर खोजी गर्दा पनि कुनै सुराक नपाएपछि घटनाले रहस्यमय रूप लिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुमानमा गर्मी छल्न पोखरीमा नुहाउन गएका बालक डुबेर ज्यान गएको हुनसक्ने बताइएको छ । तर, घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ ।

गर्मीका कारण पोखरी र खोलानालामा नुहाउने बालबालिकाको संख्या बढ्दै जाँदा डुबेर ज्यान जाने घटनामा पनि वृद्धि देखिन थालेको छ ।