धनुषामा सिँचाइका क्रममा करेन्ट लागेर एक किसानको मृत्यु

जनकपुरधाम, ८ साउन । धनुषाको हंसपुर नगरपालिकामा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा एकजना किसानको ज्यान गएको छ ।
बुधबार अपराह्न हंसपुर–७ स्थित मलहनिया टोलका ६० वर्षीय असर्फी महराको खेतमा मोटरमार्फत पानी हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार महरा दिउँसो करीब पौने ४ बजे खेतमा जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा विद्युत प्रवाहमा गडबडी भई करेन्ट लागेको थियो । गम्भीर घाइते अवस्थामा उनलाई तत्काल हंसपुर क्लिनिक लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले अपराह्न ४ बजे मृत घोषणा गरेका थिए ।
प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानअनुसार मोटर जडानका क्रममा विद्युत सुरक्षाको अभावका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
धनुषा लगायत मधेशका अधिकांश क्षेत्रहरू हाल खडेरीको चपेटामा परेका छन् । वर्षा नहुँदा किसानहरूले सिँचाइको विकल्पको रूपमा डिजेल वा बिजुली मोटरको प्रयोग गर्दै आएका छन् । तर, विद्युत सुरक्षाको न्यूनतम व्यवस्था नहुँदा यस्ता दुर्घटनाहरू बारम्बार दोहोरिइरहेका छन् ।
स्थानीयवासीले विद्युत प्रयोगमा सावधानी अपनाउने र सिँचाइका लागि सुरक्षित प्रविधि विकासमा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


