जलेश्वरमा बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन

महोत्तरी, ७ साउन । महोत्तरीको जलेश्वर नगरपालिकामा निर्माण सम्पन्न भएको बहुउद्देश्यीय व्यापारिक भवनको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।
१३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न उक्त भवनको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
संघीय सरकारअन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाद्वारा निर्मित यो भवन स्थानीय उत्पादनको प्रवद्र्धन र व्यवसायिक गतिविधिको केन्द्रका रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ ।
भवनको भुइँतल्लामा खुला बजार राखिएको छ । त्यहाँ स्थानीय उत्पादन तथा खुद्रा व्यापार गर्न सकिने व्यवस्था गरिएको छ । कार्यालय प्रमुख विनोद यादवका अनुसार पहिलो तल्लामा १५ वटा व्यवसायिक सटर र दोश्रो तल्लामा डिपार्टमेन्ट स्टोरका लागि च्याम्बर कोठा, रेस्टुरेन्ट एरिया र सम्मेलन हल निर्माण गरिएको छ ।
साथै सबै तल्लामा महिला र पुरुषका लागि स्वच्छ शौचालय, इलेक्ट्रिकल, स्यानिटरी जडान तथा अन्य आवश्यक पूर्वाधारहरु पूर्ण रूपमा तयार पारिएको उनले जानकारी दिए ।

परियोजनाअन्तर्गत जलेश्वर सिक्स लेन होटल इन्द्रेणी लजदेखि मुख्य बजारसम्मको ३४८ मिटर सडक इन्टरलकमार्फत निर्माण गरिएको छ । यस्तै, खसी बजारतर्फ जाने करिब ६४० मिटर लम्बाइको सडक तथा नालाको ढलान कार्यसमेत सम्पन्न गरिएको छ ।
मन्त्री सिंहले उद्घाटन कार्यक्रममा बोल्दै यो भवनले स्थानीय उद्यमशीलता र व्यवसाय प्रवद्र्धनमा योगदान दिने विश्वास व्यक्त गरे । उनले नगर क्षेत्रको समुचित विकासका लागि यस्ता पूर्वाधार परियोजना आवश्यक रहेको बताए ।
स्थानीय व्यापारी र सर्वसाधारणले यस्तो संरचनाबाट जलेश्वरको आर्थिक र शहरी रूपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


