जनकपुरधाममा सीता पुष्पवाटिका उद्घाटन, ‘विवाह गन्तव्य’ को रुपमा विकास गर्ने तयारी

जनकपुरधाम, ७ साउन । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित ऐतिहासिक मणिमण्डप परिसरमा संघीय सरकारको लगानीमा निर्माण गरिएको ‘सीता पुष्पवाटिका’ को बुधबार औपचारिक उद्घाटन गरिएको छ ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा जनकपुरधामको दीर्घकालीन विकास गर्ने उद्देश्यसहित परियोजना सम्पन्न गरिएको हो ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन समारोहमा बोल्दै मणिमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको ‘विवाह गन्तव्यस्थल’ को रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । ‘सीता–रामको पवित्र विवाहस्थललाई व्यवस्थित र विश्वस्तरीय धार्मिक पर्यटन क्षेत्र बनाउन अब ठोस प्रयास आवश्यक छ,’ मन्त्री सिंहले भने ।
उक्त कार्यक्रममा सहभागी मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सीता पुष्पवाटिकाको निर्माणले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । ‘जनकपुरधाम सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदाको थलो हो,’ मुख्यमन्त्री सिंहले भने, ‘भारत तथा अन्य देशबाट आउने तीर्थयात्रीलाई लक्षित गरी सेवा–सुविधा विस्तार गर्न संघीय सरकारको थप सहयोग अपेक्षित छ ।’
२०७५ मंसिर २४ गते सम्झौता भई सुरु भएको परियोजनाको निर्माण कार्य काठमाडौंस्थित रविना कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेको हो । समयमै काम नसकिएपछि म्याद थप गर्दै २०८२ असोज ३० गतेभित्र निर्माण सकिएको हो । संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका अनुसार हालसम्म करबाहेक १८ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
पुष्पवाटिकामा निर्माण गरिएका प्रमुख संरचनाहरूमा भव्य प्यालेस भवन, दुईवटा धर्मशाला, दुईवटा पभेलियन, एक विवाहमण्डप, १० कोठे सटर छन् । प्यालेस भवनभित्र ७० जना अटाउने हल, १६ अट्याच्ड बेडरुम, डाइनिङ हल, किचन, म्युजियम अफिसलगायतका सुविधा उपलब्ध छन् ।
पर्यटन व्यवसायीहरूका अनुसार सीता पुष्पवाटिका जनकपुरधामलाई ‘विवाह पर्यटन गन्तव्य’ को रूपमा अन्तर्राष्ट्रिय पहिचान दिन सक्ने सम्भावनायुक्त परियोजना हो । उनीहरूले सरकारलाई यी संरचनाको सुरक्षा, सञ्चालन र प्रवद्र्धनमा दीर्घकालीन योजना बनाउन आग्रह गरेका छन् ।
जनकपुरधामको समग्र विकासमा यस्ता संरचनात्मक परियोजनाहरू महत्वपूर्ण कदमका रूपमा हेरिएका छन् ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


