ढल्केवरमा रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियान सुरू

जनकपुरधाम, ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा धनुषाको ढल्केवरमा हस्ताक्षर संकलन अभियान सुरू गरिएको छ ।
बुधबारदेखि ट्राफिक प्रहरी कार्यालयको पश्चिमपट्टि स्टल स्थापना गरी अभियान औपचारिक रूपमा सुरु गरिएको हो ।
अभियानको नेतृत्व गरेका रास्वपा मिथिला नगर सभापति विजय साहका अनुसार दशैंसम्म निरन्तर रूपमा सञ्चालन हुने यो कार्यक्रम लामिछानेमाथि गरिएको राजनीतिक बदनियतपूर्ण आरोप र दवावको विरोधमा जनमत निर्माणका लागि गरिएको हो ।
‘राजनीतिक बदमासीविरुद्ध सशक्त जनसमर्थन जुटाउन हामी यो अभियानमा होमिएका छौं,’ नगर सभापति साहले भने ।
हस्ताक्षर संकलन स्थलमा लामिछानेको तस्बिरसहितको ब्यानर, पोस्टर टाँसिएको छ भने सर्वसाधारणलाई उनीमाथिको प्रकरण र हालको राजनीतिक परिस्थितिबारे जानकारी दिइँदैछ । कार्यक्रममा स्थानीय युवाहरू, रास्वपाका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगर सभापति साहले ढल्केवरमा बढ्दो समर्थनले मधेशमा पनि रवि लामिछानेप्रतिको विश्वास मजबुत हुँदै गएको संकेत गरेको बताए । यसअघि देशका अन्य भागहरूमा पनि लामिछानेको पक्षमा यस्ता हस्ताक्षर अभियानहरू सञ्चालन भइसकेका छन् ।
रास्वपाका स्थानीय नेताहरूले यो अभियानलाई लोकतान्त्रिक अभ्यासको एक प्रतीकका रूपमा लिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


