जनकपुरधाम, ७ साउन । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न शहरी विकास मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार जनकपुरधामस्थित सीता पुष्पवाटिका (मणिमण्डप) को पुनर्निर्मित भवनको उद्घाटन गर्दै मन्त्री सिंहले जनकपुरधामको विकासका लागि मन्त्रालयले दीर्घकालीन योजना अघि बढाइरहेको बताए ।

‘जनकपुरधाम भगवान राम र सीता माताको पवित्र विवाह स्थल हो । यो सम्पूर्ण विश्वको सांस्कृतिक सम्पदा हो,’ उनले भने, ‘यसको प्रचार–प्रसार नेपाल र भारतसम्म सीमित नराखी अन्तर्राष्ट्रिय स्तरमा ‘म्यारेज डेस्टिनेसन’ का रूपमा गर्न जरुरी छ ।’

धार्मिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार, यातायात, सरसफाइ, आवास र सूचना प्रणाली सुधार अत्यावश्यक रहेको उल्लेख गर्दै उनले जनकपुरधामको संरक्षण तथा समुचित व्यवस्थापनमा स्थानीय सरकार र समुदायको सक्रियता पनि जरुरी भएको बताए ।

‘संरचना निर्माण मात्र होइन, यसको संरक्षणमा पनि स्थानीय तहको भूमिकाले दीर्घकालीन प्रभाव पार्नेछ,’ मन्त्री सिंहले भने ।

उनका अनुसार मन्त्रालयले जनकपुरधामको पूर्वाधार विस्तार, हरियाली विकास, सांस्कृतिक सम्पदाको संरक्षण र सहरी सौन्दर्यीकरणमा विशेष प्राथमिकता दिएको छ । आगामी दिनमा अन्य धार्मिक स्थलहरूको पुनर्निर्माणमा समेत सहकार्य गर्न तत्पर रहेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, स्थानीय संघसंस्था तथा धार्मिक अगुवाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मन्त्री सिंहको पहलको स्वागत गर्दै संघीय सरकार र स्थानीय तहबीचको समन्वय अझ मजबुत हुनुपर्नेमा जोड दिएका थिए ।