जनकपुरधाम, ७ साउन । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुरे विनाशकै कारण मधेशमा पानीको संकट भयावह बन्दै गएको भन्दै चुरे संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने, ‘चुरे दोहन नरोकेसम्म चुरे संरक्षण सम्भव छैन । चुरे जोगिएन भने मधेशमा पानीको संकट झन् गम्भीर हुन्छ ।’

उनले सरकारले मधेशमा देखिएको पानीको समस्यालाई गम्भीरतापूर्वक लिएको स्पष्ट गर्दै मन्त्रीपरिषद्को बैठकबाट त्यसबारे ठोस निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टी आन्तरिक गतिविधिलाई समेत सम्बोधन गर्दै सिंहले कांग्रेसभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धा र गालीगलौजको प्रवृत्ति प्रति आपत्ति जनाए । ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन,’ उनले भने, ‘हिलो छ्यापाछ्याप गर्नुभन्दा कमी–कमजोरी सच्याउनुपर्छ ।’

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले पार्टीको सुदृढीकरणमा सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे । उनले कांग्रेस कमजोर भएमा विगतमा प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्वका लागि पार्टी बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागी स्थानीय सरकार प्रमुखहरूले इतिहासमै पहिलोपटक शहरी विकास मन्त्रालयबाट पर्याप्त बजेट प्राप्त भएको भन्दै सिंहलाई धन्यवाद व्यक्त गरेका थिए । उपप्रधानमन्त्री सिंहले जनकपुरधाममा निर्माण सम्पन्न ‘सीता पुष्पवाटिका’ (रामसीता विवाह मण्डप) र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन समेत गरे ।