राजस्व कार्यालय जनकपुरधाम ७ वर्षपछि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल

जनकपुरधाम, ७ साउन । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि पहिलोपटक तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको ४ अर्ब ८८ करोड ६८ लाख राजस्व संकलन लक्ष्यभन्दा बढी ४ अर्ब ९० करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार लक्ष्यभन्दा बढी राजस्व संकलन हुनु पछाडि विभिन्न नीतिगत सुधार, व्यवसायिक फर्महरूमाथिको निगरानी तथा करदाताहरूसँगको समन्वय मुख्य कारण हुन् । उनका अनुसार यो उपलब्धिले सात वर्षयताको खस्किएको कार्यसम्पादनमा सुधार ल्याएको छ ।
आयकर १ अर्ब ३२ करोड ५३ लाख ७४ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ९ करोड ८० लाख ६४ हजार, अन्तःशुल्क कर २ अर्ब ३६ करोड ६० लाख १० हजार, ब्याज कर ७ करोड ९५ लाख २९ हजार, बहाल कर ३ करोड ३४ लाख ४५ हजार, स्वास्थ्य कर ४ लाख ७९ हजार, शिक्षा कर ३ हजार र अन्य करहरू १४ लाख ३७ हजार रुपैयाँ संकलन गरिएको हो ।
सङ्कलन लक्ष्यअनुसारको रकम ४ अर्ब ८८ करोड ६८ लाख २४ हजार थियो । तर, करिब २ करोडले बढी ४ अर्ब ९० करोड ४३ लाख ४१ हजार रुपैयाँ संकलन भएको हो ।
कार्यालयले लामो समयदेखि कर नतिर्ने १२५ व्यवसायिक फर्ममाथि कारबाही प्रक्रिया अघि बढाएको छ । तीमध्ये १० वटा फर्मबाट मात्र चार करोड ३० लाख राजस्व संकलन गरिएको छ ।
कार्यालयले जनकपुर क्षेत्रमा करदाता संख्या करिब ३५ हजार रहेको जनाएको छ । गत वर्ष (२०८०/८१) मा कार्यालयले ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ मात्र संकलन गरेको थियो ।
कार्यालय प्रमुख गुप्ताले आगामी वर्षहरूमा करदाताको सहभागिता, डिजिटल प्रणालीको उपयोग, अनुगमन सुदृढीकरण र कानुनी कारबाहीमार्फत राजस्व संकलन अझ प्रभावकारी बनाइने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


