जनकपुरधाम, ७ साउन । नेपाल–भारत सीमास्थित धनुषाको महिनाथपुर नाका नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानमाथि आक्रमण हुँदा भारतीय पक्षले गोली प्रहार गरेको छ । घटनामा एक जना नेपालीको कम्मरमा गोली लागेर घाइते भएका छन् भने एक एसएसबी जवान समेत घाइते भएका छन् ।

घटना भारतको जयनगर अनुमण्डलअन्तर्गत बासोपट्टी थाना क्षेत्रको महिनाथपुर बोर्डरमा बुधबार बिहान करिब १० बजे भएको हो । भारतीय सुरक्षानिकायका अनुसार, नेपालतर्फबाट कच्ची बाटो हुँदै भारत प्रवेश गर्न खोजेका ४–५ जनालाई एसएसबीले रोक्ने प्रयास गर्दा विवाद चर्किएको थियो ।

विवादकै क्रममा ती समूहले एसएसबी जवानमाथि आक्रमण गरी बन्दुक खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि जवानले दुई राउण्ड गोली चलाएको बताइएको छ । भारतीय प्रहरीले आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपालका धनुषा प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले पनि सो घटनाको पुष्टि गर्दै एसएसबीले चार राउण्ड गोली प्रहार गरेको जानकारी दिए ।

घटनापछि सीमावर्ती क्षेत्र महिनाथपुर तनावग्रस्त बनेको छ भने दुवै देशका सुरक्षानिकायहरूले सतर्कता बढाएका छन् । घटनाको अनुसन्धान भारतीय सुरक्षातर्फबाट अगाडि बढाइएको जनाइएको छ ।