जनकपुरधाम, १ साउन । जनकपुरधाम उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता लिने बृद्धबृद्धा, एकल महिला, विधवा तथा अन्य लाभग्राहीहरूको विवरण बायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्न सुरु गरेको छ ।

साउन १ गतेबाट वडा नं. १० बाट प्रारम्भ गरिएको नविकरण कार्य सबै वडामा साउन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए । उनले भने, ‘भत्ता वितरणमा पारदर्शिता र प्रभावकारिता ल्याउन बायोमेट्रिक प्रणाली लागू गरिएको हो ।’

उपमहानगरपालिकाका अनुसार नविकरण गर्न आउँदा लाभग्राहीहरूले नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, पुरानो भत्ता विवरण र औंठाछाप अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

उपमहानगरपालिकाले यस प्रणालीमार्फत भत्ताको दुरुपयोग नियन्त्रणमा आउने, नक्कली लाभग्राही छुट्टिने र वास्तविक लाभग्राहीले समयमा सेवा प्राप्त गर्ने वातावरण तयार हुने विश्वास लिएको छ ।

उपमहानगरपालिकाले सबै लाभग्राहीहरूलाई समयमै आफ्नो वडा कार्यालयमा गई विवरण नविकरण गराउन आग्रह गरेको छ ।