पर्सामा सेनाको ट्याङ्करमार्फत आपतकालीन पानी वितरण

पर्सा, १ साउन । पर्सा जिल्लामा गहिरिँदो खानेपानी अभावलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयले आपतकालीन वितरण सुरु गरेको छ । मधेश प्रदेश सरकारबाट उपलब्ध ट्याङ्करहरूको सहयोगमा नेपाली सेनाको श्रीजंग गण, पर्सा परिचालित भई प्रभावित क्षेत्रमा पानी पुर्याउने कार्यमा खटिएको हो ।
बिहीबार जिल्ला प्रशासनले जारी गरेको सूचनामा जिल्लाका विभिन्न बस्तीहरूमा खानेपानीको गम्भीर समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विहान ५ बजेदेखि राति १० बजेसम्म टोलटोलमा ट्याङ्करमार्फत पानी वितरण गरिने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको हस्ताक्षरयुक्त सूचनामा भनिएको छ, ‘खानेपानीको समस्या भएका टोल वा व्यक्तिले १८१०५०००२१७ नम्बरमा फोन गरी जानकारी दिन सक्नेछन् ।’ यो हटलाइन टोल फ्री हुनेछ भने अतिरिक्त जानकारी वा गुनासोका लागि ९८५५०७७७७७ नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ ।
प्रशासनका अनुसार सेनाको सहभागिता विपद् व्यवस्थापनमा विश्वासिलो माध्यम बनेको छ । ‘श्रीजंग गणका ट्याङ्करहरू समितिको निर्देशनअनुसार नियमित रूपमा पानी पुर्याउने छन्,’ सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासनले यो समस्यालाई केवल तात्कालिक नभई संरचनागत समस्या पनि मानेको छ । भौगोलिक बनावट, सुक्खा स्रोत र जीर्ण संरचनाले गर्दा प्रत्येक वर्ष गर्मीयाममा यस्तो संकट दोहोरिने गरेको छ ।
खानेपानी वितरणको पारदर्शिता सुनिश्चित गर्न स्थानीय टोल विकास संस्था र बासिन्दाहरूलाई समन्वय र निगरानीको जिम्मेवारी दिइएको छ । यसबाट वास्तविक पीडितलाई प्राथमिकता दिने प्रयास गरिएको जनाइएको छ ।
दीर्घकालीन समाधानका लागि स्थायी जल स्रोतको संरक्षण, पानी संकलन प्रणालीको विकास, तथा भूगर्भ जलको विवेकपूर्ण उपयोग अपरिहार्य रहेको विज्ञहरू बताउँछन् । विशेषतः वीरगंज महानगर जस्ता जनघनत्व उच्च भएका क्षेत्रमा पुनःभरण नहुँदा पानी संकट वर्षेनी गम्भीर बन्ने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


