तीन दशक लामो वन सेवाको समर्पणपछि उपसचिव शर्माको बिदाई

जनकपुरधाम, १ साउन । तीन दशकभन्दा बढी समय वन प्रशासन सेवामा समर्पित रहँदै उल्लेखनीय योगदान दिएका उपसचिव सुरेश प्रसाद शर्माको सेवा निवृत्तिको अवसरमा जनकपुरधाम वन प्राविधिक समाजले एक सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
वि.सं. २०४५ साल वैशाख ५ गते जिल्ला वन कार्यालय गुल्मीबाट सहायक रेन्जरका रूपमा सरकारी सेवा प्रारम्भ गरेका शर्माले आफ्नो सेवा अवधि स्याङ्जा, प्युठान, उदयपुर, वन विभाग, मधेश प्रदेश अन्तर्गत वन तथा वातावरण मन्त्रालय हुँदै डिभिजन वन कार्यालय धनुषा र अन्ततः प्रदेश निर्देशनालयमा उपसचिवका रूपमा सम्पन्न गरेका हुन् ।
उनले उमेरहदका कारण २०८२ साउन २ गतेबाट अनिवार्य सेवा निवृत्त भएका हुन् । केवल कुशल वन प्राविधिक मात्र नभई एक सक्रिय समाजसेवीको छवि बनाएका शर्माले जनकपुरधामका गंगासागर, दूधमती, गेरुका नदी सरसफाइ अभियान तथा पिपल वृक्षारोपण कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निभाउँदै आएका थिए । उनी हाल जनकपुरधाम वन प्राविधिक समाजका महासचिव समेत हुन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले शर्माको सरल स्वभाव, इमान्दारिता, नेतृत्व क्षमता र दायित्वबोधको खुलेर प्रशंसा गरेका थिए । उनीहरूले शर्माले आफ्नो सेवा अवधिमा नीतिगत र व्यवहारिक दुवै पक्षमा उल्लेखनीय उदाहरण पेश गरेको बताए ।
शुभकामना कार्यक्रममा वन प्राविधिक समाजका पदाधिकारीहरू, वन कर्मचारी, सामाजिक अभियन्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


