किसानको खेतमा वाईसिएलको पसिना

जनकपुरधाम, १ साउन । मधेशका किसानहरू पानी र खेत मजदुरको अभावमा रोपाइँ गर्न नसकिरहेका बेला नेकपा माओवादी केन्द्रको युवा संगठन यंग कम्युनिष्ट लिग (वाईसिएल) नेपालले खेतमै उत्रेर धान रोप्दै किसानको साथ दिएका छन् ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा वाईसिएलको टोलीले स्थानीय किसानको खेतमा धान रोपेर सहयोगी भूमिका निर्वाह गरेको हो । खेतीपातीको समयमै श्रमिक नपाएर समस्यामा परेका किसानहरूका लागि यो अभियानले राहत पुर्याएको छ ।
कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज मातृका यादवले उत्पादनशील श्रमसँग युवालाई जोड्न आवश्यक रहेको बताए । ‘खेतीपाती गरेर नै हामी नेता भएका हौं । फेरि पनि त्यही माटोमा फर्केर श्रमसँग जोडिनुपर्छ,’ यादवले भने ।
उनले वैदेशिक रोजगारीको पीडादायक अवस्थाबारे चिन्ता व्यक्त गर्दै भने, ‘मधेश प्रदेशबाट मात्रै १५ लाख युवा विदेशिएका छन् । धनुषाबाट मात्र करिब साढे तीन लाख युवा रोजगारीका लागि बाहिर गएका छन् । यो दुःखद अवस्था हो ।’
पूर्वमन्त्रीसमेत रहेका यादवले देशमै श्रम, उत्पादन र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न राजनीतिक संगठनहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
स्थानीय किसानहरूले वाईसिएलको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो अभियानले समाजमा सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


