जनकपुरधाम, ३२ असार । धनुषाको जनकनन्दनी गाउँपालिका–१ निवासी अजय कुमार गोइतमाथि पेस्तोल देखाएर गरिएको लुटपाटमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको देवधा–८ पिठुवा टोल निवासी २३ वर्षीय विजय मुखिया रहेको धनुषा प्रहरीले जनाएको छ ।

असार २० गते बैंकमा नगद जम्मा गर्न जाँदै गरेका गोइतलाई बीच बाटोमा रोक्दै मुखियाले पेस्तोल देखाएर नगद २ लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र आइफोन १६ प्रो लुटपाट गरेका थिए ।

धनुषा प्रहरीले अभियुक्त मुखियालाई सोमबार साँझ सबैला नगरपालिका–९ स्थित ठिल्लाबाट पक्राउ गरेको हो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ परेका विजय मुखिया पेशेवर लुटेरा हुन् । भारतमा समेत उनीमाथि ९ देखि १० वटासम्म आपराधिक मुद्दा रहेको पाइएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय लुटपाटका घटनामा संलग्न व्यक्ति नेपाल–भारत सीमालाई दुरुपयोग गर्दै एक देशमा अपराध गरेर अर्को देशमा लुकेर बस्ने प्रवृत्ति बढ्दो छ ।

एसपी रेग्मीले भने, ‘भारतमा लुटपाट गरेर नेपालमा लुक्ने र नेपालमा गरेर भारत भाग्ने प्रवृत्तिले दुवै देशका सुरक्षाकर्मीलाई चुनौती बढाएको छ ।’

धनुषा प्रहरीले मुखियामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।