जनकपुरधाम, ३२ असार । तराई मधेश लोकतान्त्रिक पार्टीको धनुषा जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय वरिष्ठ नेता डा. विजयकुमार सिंह विशेष अतिथिको रूपमा सहभागी थिए ।

बैठकमा पार्टीका नेताहरूले वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, बदलिंदो सामाजिक परिप्रेक्ष्य र सरकारको कार्यशैलीबारे विमर्श गरेका थिए । सहभागी नेताहरूले देशको पछिल्लो राजनीतिक अन्यौल, सुशासन अभाव र मधेश क्षेत्रका जनताका समस्या सम्बोधनबारे पार्टीको धारणा तय गर्नुपर्नेमा जोड दिएका थिए ।

वरिष्ठ नेता डा. सिंहले बैठकलाई सम्बोधन गर्दै भने, ‘मधेशका जनताको अधिकार रक्षा र राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति जनाउने उदेश्यले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनु जरुरी छ ।’

बैठकमा आगामी दिनमा पार्टीको रणनीति, अभियान सञ्चालन र स्थानीय तहमा सांगठनिक विस्तारबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

जिल्ला अध्यक्ष सिंहले सहभागी सबै नेताहरूलाई धन्यवाद ज्ञापन गर्दै पार्टीलाई विचार र संगठन दुवै दृष्टिकोणले मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।