सिरहा, ३२ असार । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रम्हपुरीमा प्रेम विवाहपछि एक युवती दाइजोको नाममा हिंसा र यातनाको शिकार बनेकी छन् ।

दाइजो दबाबसहितको व्यवहार नसहने स्थितिमा पुगेपछि पीडित युवती मनीषा कुमारी गामीले श्रीमान् र ससुरा पक्षविरुद्ध कानुनी मुद्दा दायर गरेकी छन् ।

स्थानीय २४ वर्षीय मुकेश प्रधान सुडीसँग पाँच वर्ष लामो प्रेम सम्बन्धपछि समाजिक रुपमा विवाह गरेकी मनीषाले विवाहपछि ससुरा पक्षबाट निरन्तर दाइजोको माग र शारीरिक–मानसिक यातना भोग्नु परेको बताएकी छन् ।

उनका अनुसार विवाहपूर्व मुकेशले ‘माया प्रेममा दाइजो चाहिँदैन’ भनेका थिए । तर, विवाहपछि ६० लाख नगद, २० तोला सुन, कार र बन्दिपुरमा रहेको घर नजिकैको मुख्य सडक किनारको जग्गा माग गर्दै लगातार दवाव दिइएको छ ।

‘बुवाले विवाहको बेला १० लाख नगद र झण्डै ७ लाख बराबरको सामान दिनुभएको थियो,’ मनीषाले भनिन्, ‘तर, ती सबै नपुग्ने भन्दै मलाई कुटपिट, गालीगलौज र अपमानित गर्न थाले ।’

मनीषाले गत जेठ ७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा श्रीमान् मुकेश, सासू ललिता कुमारी प्रधान सुडी र ससुरा गौरी शंकर प्रधान सुडीविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपश्चात प्रहरीले तीनै जनालाई प्रतिवादी बनाएर फौजदारी मुद्दा जिल्ला अदालतमा दर्ता गरिसकेको छ । अदालतले हालसम्म ४८ वर्षीया सासू ललिता कुमारीलाई पक्राउ गरी अनुसन्धानपछि १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

तर, ५० वर्षीय ससुरा गौरी शंकर र २४ वर्षीय श्रीमान् मुकेश हाल फरार छन् । उनीहरूलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरे पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

पीडित मनीषाको माइतीघर कर्जन्हा नगरपालिका–२ बन्दिपुरमा पर्छ । अदालतमा बिहे गरेपछि समाजको दबाबमा दुवै पक्षको सहमतिमा झण्डै ३० लाख रुपैयाँ खर्च गरी मन्दिर र भोजसहित विवाह गरिएको थियो । अहिले भने मनीषा आफ्नै निर्णयमा पछुतो मान्दै न्यायको खोजीमा संघर्षरत छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा १७४ अनुसार दाइजो माग्नु, दिनु वा लिनु सबै गैरकानुनी मानिन्छ । प्रहरीले फरार प्रतिवादीहरूलाई खोजी कार्य तीव्र बनाइएको जनाएको छ । स्थानीय महिलावादी अधिकारकर्मीहरूले घटनालाई गम्भीर मानव अधिकार उल्लंघन भन्दै पीडितलाई शीघ्र न्याय दिलाउन माग गरेका छन् ।