सिरहा, ३२ असार । जनमत पार्टीको आन्तरिक विवाद थप चुलिएको छ । पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले निलम्बित उपाध्यक्ष दिपक साहसहितका नेतामाथि भौतिक कारबाहीको चेतावनी दिएका छन् ।

पार्टीको निर्णय र कार्यदिशाविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै यादवले उपाध्यक्ष साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहविरुद्ध सिरहा जिल्ला प्रशासन कार्यालयमा औपचारिक निवेदन दर्ता गराएका हुन् ।

उक्त निवेदनमा तीनै नेताले पार्टीलाई बदनाम गर्ने नियतले सिरहामा ‘असहयोगपूर्ण’ गतिविधि गरिरहेको दाबी गर्दै यदि यस्ता कार्य नरोकिए भौतिक कारबाही गर्न बाध्य हुने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले उक्त निवेदन दर्ता गरेको पुष्टि भएको छ ।

पार्टीले अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेपछि साहसहितका नेताहरूले ‘जनसंवाद यात्रा’ सुरु गरेका थिए । सोही क्रममा बारामा जनमतकै केही कार्यकर्ताले उनीहरूलाई कालोमोसो दल्ने र दुर्व्यवहार गर्ने जस्तो घटनासमेत घटिसकेको छ ।

सिरहा इन्चार्ज यादवको चेतावनीपछि पार्टीभित्रको विवाद अझै गहिरिँदै गएको देखिएको छ भने विपक्षी नेताहरूले यसलाई गम्भीर राजनैतिक धम्कीका रूपमा लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले प्राप्त निवेदनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।