सिरहा, ३२ असार । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा उनीमाथि निगरानी गर्दै आएर कल्याणपुर नगरपालिका परिसरमै नियन्त्रणमा लिएको हो ।

नगरप्रमुख साहले सेवाग्राहीसँग नगद रकम लिइरहेको अवस्था पुष्टि भएसँगै अख्तियार टोलीले उनलाई समातेको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि आयोगको बर्दिबासस्थित कार्यालयमा लगिएको छ ।

नेकपा एमालेबाट निर्वाचित साहविरुद्ध केही समयदेखि सेवाग्राहीहरूमाथि आर्थिक लेनदेनका लागि दबाब दिएको आरोपमा उजुरीहरू परेका थिए । त्यसैका आधारमा अख्तियारले उनलाई निगरानीमा राखेको र प्रमाणसहित पक्राउ गरेको आयोग स्रोतले जनाएको छ ।

अख्तियारले घटनाको प्रारम्भिक अनुसन्धान अगाडि बढाइसकेको छ भने चाँडै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।