जनकपुरधाम, ३२ असार । मधेश प्रदेशमा लामो समयदेखि परेको खडेरीले सिर्जना गरेको खानेपानी संकट न्यूनीकरण गर्न प्रदेश सरकारले वारुणयन्त्रमार्फत बस्ती–बस्तीमा पानी वितरण शुरु गरेको छ ।

बारा, पर्सालगायतका प्रभावित जिल्लामा प्रदेश सरकारको स्वामित्वमा रहेका आठवटा वारुणयन्त्र नेपाली सेनाको जिम्मामा खटाइएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहका अनुसार ती वारुणयन्त्रहरू असार महिनाको अन्त्यतिर गृह, सञ्चार तथा कानुन मन्त्रालयमार्फत खरिद भई जनकपुरमा राखिएका थिए । अहिले ती गाडीहरू अति प्रभावित क्षेत्रहरूमा २४ सै घण्टा खटिने गरी परिचालन गरिएको छ ।

‘लामो समयदेखि वर्षा नहुदा जनजीवन कष्टकर भएको छ । प्रदेश सरकार नागरिकको पीडामा साथ दिन तयार छ,’ मुख्यमन्त्री सिंहले भने, ‘वारुणयन्त्र प्रयोग गरेर पानी वितरण गरिरहेका छौं, संघीय सरकारसँग पनि समन्वयमा जुटेका छौं ।’

मंगलबार साँझ मुख्यमन्त्री सिंहले संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गरी दीर्घकालीन समाधानका विषयमा छलफल गरेको जानकारी दिएका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले दिएको जानकारी अनुसार प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रतिगाडी ५ हजार लिटर क्षमता भएका आठवटा वारुणयन्त्र अत्यावश्यक क्षेत्रमा पठाइएका छन् ।

वारुणयन्त्रसँगै नेपाली सेनाका सातवटा पानी ट्यांकर र वन कार्यालयका तीनवटा गाडीसमेत पानी वितरणमा परिचालित छन् । स्थानीय स्तरमा चापाकलहरू सुक्न थालेपछि दैनिक उपभोगका लागि स्थानीयवासीले संघर्ष गर्नु परिरहेको अवस्थामा प्रदेश सरकारले चालेको यो कदम तत्काल राहतको रूपमा लिइएको छ ।

इन्धनदेखि सञ्चालन खर्चसम्मको व्यवस्था प्रदेश सरकारले नै गर्ने जनाइएको छ । जनस्वास्थ्यमा थप संकट नआओस् भनेर प्रभावित क्षेत्रमा खानेपानीको पहुँच सहज बनाउन संघीय तथा स्थानीय सरकारसँग समन्वय गर्दै राहत प्रयास अघि बढाइने प्रदेश सरकारको भनाइ छ ।