जनकपुरधाम, ३२ असार । मधेश प्रदेश सभाको पाँचौं अधिवेशन औपचारिक रूपमा अन्त्य गरिएको छ ।

मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८२ साल असार ३२ गते राति १२ः०० बजेबाट लागू हुने गरी अधिवेशन अन्त्यको निर्णय गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालय जनकपुरधामबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको चालू पाँचौं अधिवेशन अन्त्यका लागि सिफारिस प्राप्त भएकोले संविधानबमोजिम उक्त अधिवेशन अन्त्य गरिएको छ ।’

यस्तै, मधेश प्रदेश सभा सचिवालयले पनि औपचारिक सूचना प्रकाशित गर्दै प्रदेशसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (४) अनुसार सम्पूर्ण प्रदेशसभा सदस्य तथा सरोकारवालालाई जानकारी गराएको छ ।

पाँचौं अधिवेशनको समापनसँगै चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । अधिवेशन अवधिभर बजेटमा देखिएको विवाद, पारदर्शिताको अभाव र विपक्षी दलहरूको आलोचनाबीच संसद् सञ्चालन भएको थियो ।