मिथिला बिहारीमा उपप्रमुखहरूको अन्तरक्रिया सम्पन्न

जनकपुरधाम, ३२ असार । स्थानीय तहमा न्यायिक समितिको भूमिका सशक्त र प्रभावकारी बनाउने उद्देश्यले मिथिला बिहारी नगरपालिकामा अन्तरपालिका उपप्रमुख तथा न्यायिक समिति सदस्यहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मानव कल्याण समाज नेपाल, धनुषाको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाभरिका १८ वटा स्थानीय तहका उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धनुषा जिल्ला अदालतका न्यायाधीश दिल कुमार बर्देबाले न्यायिक समितिहरू नागरिकको न्यायमा पहुँच पुर्याउने महत्वपूर्ण संयन्त्र भएको उल्लेख गर्दै समितिका पदाधिकारीहरूलाई कानुनी साक्षरता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न प्रेरित गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भएका मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्र यादव र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले स्थानीय तहको न्यायिक भूमिका अझ सक्षम बनाउन यस्तो प्रशिक्षणात्मक कार्यक्रमको निरन्तरताको आवश्यकता औंल्याए ।
प्रशिक्षक अधिवक्ता राम विलास यादवले न्यायिक समितिको संरचना, कार्यदायित्व र कानुनी प्रक्रिया विषयमा व्याख्या गर्दै व्यवहारमा उपयोगी कानुनी ज्ञान प्रदान गरे । कानुन सल्लाहकार अरुण कुमार यादवले स्थानीय तहमा देखिने व्यवहारिक चुनौती र समाधानका उपायबारे प्रस्तुति दिए ।
कार्यक्रमको अध्यक्षता मिथिला बिहारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक शोभा देवी साहले गर्दै यस्ता कार्यक्रमहरूले उपप्रमुखहरूबीच समन्वय, सिकाइ र अनुभव साटासाटको माध्यम बनेको बताइन् । उनले यस्तो पहललाई नियमित कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


