मधेश प्रदेशमा ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागू

जनकपुरधाम, ३२ असार । जनसुरक्षालाई प्राथमिकतामा राख्दै मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ तथा ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत सुरु गरिएका यी दुई कार्यक्रमले विपद् र दुर्घटनामा परेका नागरिक तथा उनका परिवारलाई तत्काल राहत प्रदान गर्ने लक्ष्य राखेको छ ।
मन्त्रालयका अनुसार सडक दुर्घटना, डुबान, करेन्ट लाग्नेजस्ता अप्रत्याशित घटनामा ज्यान गुमाउने नागरिकका परिवारलाई बीमा योजनाअन्तर्गत अधिकतम १० लाखसम्मको राहत उपलब्ध गराइनेछ । यस्तै, आगलागी, बाढी, हावाहुरी वा अन्य प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेमा न्यूनतम १ लाखदेखि अधिकतम ५ लाख २५ हजारसम्मको सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ ।
‘सरकार नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गम्भीरतापूर्वक अघि बढिरहेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यी कार्यक्रमले आगामी दिनमा दीर्घकालीन सामाजिक सुरक्षा संरचनाको जग बसाल्नेछ ।’
मधेश प्रदेशका बारा, पर्सा, सिरहा, सर्लाही लगायतका जिल्लाहरू विगतमा बारम्बार बाढी, आगलागी र प्राकृतिक विपद्का घटनाबाट प्रभावित हुँदै आएका छन् । यही पृष्ठभूमिमा प्रदेश सरकारले जोखिम न्यूनिकरण र तत्कालीन राहत सुनिश्चित गर्ने उद्देश्यले यी कार्यक्रम ल्याएको हो ।
सरकारले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, जिल्ला प्रशासन, रेडक्रस, प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर बीमा सहायता प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


