महोत्तरी, ३१ असार । निर्माण सम्पन्न भइसके पनि भुक्तानी रोकिएको भन्दै महोत्तरीको एकडारा गाउँपालिकामा स्थानीय निर्माण व्यवसायीहरूले मंगलबार तालाबन्दी गरेका छन् ।

अनु कन्स्ट्रक्सनका सञ्चालक भवेश मिश्रसहितका व्यवसायीहरूले पालिका कार्यालयमा तालाबन्दी गर्दै पालिका प्रशासनमाथि खुला रूपमा ‘कमिसन’ माग गर्ने र पारदर्शिता विहीन ढंगले भुक्तानी प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।

मिश्रका अनुसार वडा नं. ५ मा निर्माण सम्पन्न भएको पर्खालको फाइल असार १५ अगाडि नै पेश गरिए पनि कार्यालयका कर्मचारीहरूले ‘पहिले पैसा दिनु’ भन्दै भुक्तानी प्रक्रिया रोकिदिएको आरोप छ । ‘काम अनुसारको पैसा अहिले नै दिनुपर्छ, पछि मिल्दैन भनेपछि मसँग तत्काल रकम नभएकाले फाइल रोकिएको हो,’ उनले भने ।

व्यवसायीहरूले तालाबन्दी गर्दै पालिकाका इन्जिनियर रोहित झा, लेखा प्रमुख निरज चौधरी र प्रमुख प्रशासनिक अधिकृत रामजी जोशीको नाम सार्वजनिक गर्दै यिनै व्यक्तिहरूको मिलोमतोमा ‘कमिसन दिने व्यवसायीहरू’लाई चेक जनकपुरबाटै वितरण गरिएको आरोप लगाएका छन् ।

‘हामी पालिकामा घण्टौं बस्दा पनि सुनुवाइ भएन । तर, कमिसन दिनेहरूले जनकपुरमै चुपचाप भुक्तानी पाएका छन्,’ एक व्यवसायीले भने ।

व्यवसायीहरूले करिब १० दिनदेखि कर्मचारीहरू कार्यालयमा नियमित नआएको, पारदर्शिता नअपनाएको र प्रशासनले मनलाग्दी शैलीमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि पनि पालिकामा बजेट कार्यान्वयन प्रक्रिया र निर्माणको पारदर्शितामाथि स्थानीय नागरिक समाजले प्रश्न उठाउँदै आएको थियो ।

यसैबीच, लेखा प्रमुख निरज चौधरीले आफू पालिकामा नभई २३, २४ र २५ गते बाह्य कार्यमा खटिएको स्वीकार गरे पनि अन्य कर्मचारीहरूसँग सम्पर्क प्रयास गर्दा प्रतिक्रिया प्राप्त हुन सकेन ।

तालाबन्दीका कारण हाल पालिकाको सेवा प्रवाह पूर्ण रूपमा ठप्प भएको छ । व्यवसायीहरूले माग सम्बोधन नभएसम्म तालाबन्दी कायमै राख्ने चेतावनी दिएका छन् ।