जनकपुरधाम, ३१ असार । मैथिली साहित्यकार सभाको आयोजनामा त्रैमासिक एकल गद्यवाचन श्रृंखलाको दशौँ संस्करण मंगलबार जनकपुरधामस्थित मोनाष्टिक विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रममा गद्यरचना वाचकका रूपमा चर्चित साहित्यकार रोशन जनकपुरीले आफ्ना सातवटा गद्यकृति प्रस्तुत गरेका थिए । त्यसमा दुई कथा, तीन लघुकथा, एक व्यङ्ग्य र एक संस्मरण समावेश थिए ।

प्रस्तुत व्यङ्ग्य ‘दरबारीलालु’ ले कार्यक्रममा उपस्थित दुई दर्जनभन्दा बढी श्रोतामध्ये अधिकांशको ध्यान खिच्न सफल भयो । व्यङ्ग्यले सत्ता पक्षका ‘हाँजुरिया प्रवृत्ति’लाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई गम्भीर सोचमा पारिदिएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा समीक्षकका रूपमा वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले प्रस्तुत रचनाहरूको सशक्त समीक्षा गर्दै गद्यवाचन कार्यक्रमको शैली र स्तरीयताप्रति प्रशंसा व्यक्त गरे ।

कार्यक्रमको सभापतित्व साहित्यकार अरविन्द कुमार यादवले गरेका थिए भने मोनाष्टिक विद्यालयका सञ्चालक डा. सोनु कुमारले विशेष आतिथ्य ग्रहण गरेका थिए । स्वागत मन्तव्य विन्देश्वर ठाकुरले दिएका थिए ।

कार्यक्रमका क्रममा असार महिनामा जन्मदिन पर्ने दुई विशिष्ट व्यक्तित्व साहित्यकार धीरेश्वर झा धीरेन्द्र र सुप्रसिद्ध पुरातत्त्वविद् तारानन्द मिश्रको योगदानको स्मरणसमेत गरिएको थियो ।

कार्यक्रममा प्रेम विदेहले गद्यकार रोशन जनकपुरीको परिचय प्रस्तुत गरेका थिए । श्रोतापक्षबाट कैलाश ठाकुर, अशोक कुमार यादव र विभा ठाकुरले रचनाप्रति प्रतिक्रिया दिएका थिए । कार्यक्रमको सञ्चालन अरुण आर्यले गरेका थिए ।

मैथिली भाषाको साहित्यिक समृद्धिलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहँदा साहित्यप्रेमी समुदायमा उत्साह थपिने सहभागीहरू बताउँछन् ।