सप्तरी, ३० असार । राजविराज नगरपालिकाको गाडीको ठक्करबाट गम्भीर घाइते भएका सप्तरी बोदेबर्साइन–१ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरूले सोमबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।

नगर गाडीको लापरवाहीले किशोरको जीवन संकटमा परेको भन्दै पीडित पक्षले न्यायको लागि नगरपालिकाको मूल गेटमा धर्ना बसेका छन् । आन्दोलनको क्रममा कार्यालयभित्र कार्यवाहक नगरप्रमुख इसरत परविनसहित कर्मचारी र जनप्रतिनिधि थुनिएका छन् । कार्यालयभित्रै थुनिनुपरेको अवस्थाप्रति पीडित पक्षले नगरपालिका प्रशासनलाई नै दोषी ठहर गरेका छन् ।

पीडित परिवारका अनुसार गत माघ १ गते हुलाकी सडकखण्ड अन्तर्गत बोदेबर्साइन–५ मा राजविराज नगरपालिकाको सवारी साधनले राजेशसहित सोही ठाउँका २२ वर्षीय अजितकुमार यादवलाई ठक्कर दिएको थियो । दुर्घटनापछि अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्काइए पनि राजेशको अवस्था गम्भीर रहँदा उनलाई विराटनगरको विराट नर्सिङ होममा आइसियूमा राखेर उपचार गर्नुपरेको थियो ।

राजेशका बडाबुवा बैधनाथ यादवका अनुसार उनी ९० दिन आइसियूमा रहेपछि मात्र होसमा आएका थिए । हालसम्म पनि उनको पूर्णरूपमा स्वास्थ्य सुधार नभएको बताइएको छ ।

यसैबिच, उपचार खर्च तिर्न नसक्दा राजेश अस्पतालमै बन्धक भएका छन् । छोराको अवस्था देख्दा परिवार मानसिक र आर्थिक रूपमा पूर्णरूपमा थलिएको पीडितका बुबा रघुनाथ यादवले बताए । उनले भने, ‘महिनौँदेखि नगरपालिकामा बारम्बार आग्रह गर्यौँ । तर, आश्वासन मात्र पाइयो, सहयोग पाइएन । अब त आन्दोलनबाहेक विकल्प छैन ।’

न्यायको खोजीमा जुटिरहेको पीडित परिवारले ‘न्यायिक संघर्ष समिति’ गठन गरी आवाज उठाउँदै आएको छ । तर, नगरपालिका प्रशासनले पीडित पक्षसँग संवाद नगरेको र ठोस निर्णय नगरेको भन्दै परिवारले आक्रोश पोखेको छ ।

‘नगरपालिकाले उपचार खर्च नदिएसम्म तालाबन्दी र आन्दोलनको कार्यक्रम जारी रहनेछ,’ संघर्ष समितिका सदस्यहरूले चेतावनी दिएका छन् ।

पीडित पक्षले कार्यवाहक नगरप्रमुख इसरत परविनले पटक–पटक ‘आजभोलि भन्छु, हेरौंला’ जस्ता आश्वासन मात्र दिएको आरोप लगाएका छन् । स्थानीय सरकारको यस्तो उदासिनता जनतासँग गरेको वाचा विपरित भएको भन्दै पीडित पक्षले आक्रोश जनाएका छन् ।