मधेश प्रदेश वन निर्देशनालयको प्रगति समिक्षा गोष्ठी सम्पन्न

जनकपुरधाम, ३० असार । मधेश प्रदेश सरकारअन्तर्गत प्रदेश वन निर्देशनालयको आयोजनामा आ.व. २०८१/८२ को वार्षिक तथा चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
धनुषा जिल्लाको पुरन्दाहास्थित कल्चरल भिलेजमा सोमबार आयोजित कार्यक्रममा निर्देशनालयका १९ वटा कार्यक्रम तथा योजनाबारे विस्तृत प्रस्तुति दिइएको थियो ।
गोष्ठीमा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा प्रदेश प्रमुख सचिव मदन बहादुर भुजेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकुमार सिंह विशिष्ट अतिथि तथा प्रदेश सचिव उद्घव बहादुर घिमिरे अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा निर्देशनालय अन्तर्गत चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, लक्ष्य प्राप्ति, बजेट खर्च, नीति कार्यान्वयन, वन संरक्षण तथा वातावरणीय पहलहरूबारे समीक्षा गरिनुका साथै आगामी वर्षका कार्यदिशाबारे समेत छलफल भएको थियो ।
समिक्षा गोष्ठीमा सहभागी विशेषज्ञ, कर्मचारी र सरोकारवालाहरूले विभिन्न कार्यक्रमको प्रभावकारिता, चुनौतिहरू र सुधारका सम्भावनाहरूबारे विचार आदान–प्रदान गरेका थिए । गोष्ठीले कार्यप्रगति मूल्याङ्कन मात्र नभई भविष्यका योजना निर्माणका लागि पनि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


