कुर्था–तपनपुर सडक शिलान्यास

जनकपुरधाम, ३० असार । जनकपुरधाम उपमहानगरपालिका–२१ स्थित वाटिका चौकदेखि महोत्तरीको तपनपुर जोड्ने सडकको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
मधेश प्रदेश सरकारका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवको विशेष पहलमा उक्त सडकखण्डको शिलान्यास गरिएको हो ।
नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व संघीय खानेपानी मन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा सडकको शिलान्यास सम्पन्न भयो । ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुमारकान्त झाले संयुक्त रूपमा शिलान्यास गरेपछि सडक निर्माण कार्य औपचारिक रूपमा थालिएको हो ।
सडक निर्माण बहुवर्षीय योजना ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम (दोस्रो चरण)’ अन्तर्गत पर्ने हो । कुल ५ किलोमिटर लम्बाइको यो सडक धनुषा क्षेत्र नम्बर ४(ख) अन्तर्गत पर्ने कुर्था–तपनपुर मार्गमा निर्माण गरिनेछ । निर्माण कार्य महतो कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीले जिम्मा लिएको छ । कुल लागत १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने निर्माण अवधि डेढ वर्ष तोकिएको छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि ब्रजकिशोर यादवका अनुसार खुला क्षेत्रका लागि १० मिटर चौडाइको कालोपत्रे सडक र सघन बस्तीमा २५ फिट पिच ढलान गरिनेछ ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथि महेन्द्र यादवले भने, ‘सडक पूर्वाधार स्थानीय विकासको मेरुदण्ड हो । यसले जनकपुर–२१ र महोत्तरीको तपनपुरबीचको आवागमन, व्यापार र सेवाप्रवाहमा सहजता ल्याउनेछ ।’
ऊर्जा मन्त्री यादवले संघीयतापछि प्रदेश सरकारले विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘संघीय संरचनाको सही उपयोगले मधेशमा विकास र समृद्धिको लहर ल्याएको छ । यो गति कायम राख्न सरकारले निरन्तर काम गरिरहेको छ ।’
कार्यक्रममा वडा नं. २१ का अध्यक्ष राजु साह, कांग्रेसका युवा नेता घनश्याम यादव, स्थानीय अगुवा, महिलाहरू, युवाहरू तथा सर्वसाधारणको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


