जनकपुरधाम उपमहानगरको बजेट ३ अर्ब १ करोड

जनकपुरधाम, ३० असार । जनकपुरधाम उपमहानगरपालिकाको १३औं नगरसभामा उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब १ करोड ९ लाख ४ सय ६३ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
चालू खर्च र सामाजिक सुरक्षाका कार्यक्रमलाई सन्तुलित गर्दै उपमहानगरले पुँजीगत खर्चलाई प्राथमिकता दिएको हो ।
प्रस्तावित बजेटमध्ये चालू खर्चतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगत खर्चतर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्ता वितरणका लागि ५० करोड रुपैयाँ छुट्याइएको छ ।
नगरसभा बैठकमा गत आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनबारे जानकारी दिँदै उपमहानगरले चालू खर्चतर्फ ८० प्रतिशत, पुँजीगत खर्चतर्फ ८५ प्रतिशत तथा समग्र वित्तीय प्रगति ७१ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
नगर प्रमुख मनोज साहको अनुपस्थितिमा उपप्रमुख साहले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, स्वच्छता र सामाजिक सुरक्षामा ध्यान केन्द्रित गरिएको जानकारी दिए ।
उनले राजस्व संकलन प्रणाली सुधार, सेवा प्रवाहमा पारदर्शिता तथा जनसहभागितामूलक विकास कार्यक्रम कार्यान्वयनमा जोड दिने बताए ।
नगरसभा बैठकमा वडा अध्यक्षहरू, कर्मचारी, स्थानीय प्रतिनिधि तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


