दुई करोड ठगी गरेका फरार ठगहरूलाई जनताले कारबाही गरे : सीके राउत

जनकपुरधाम, २९ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टीका निलम्बित उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ‘दुई करोड रुपैयाँ लिएर भागेका फरार ठग’ भन्दै उनीहरूमाथि भएको सार्वजनिक कारबाहीलाई ‘जनताको न्याय’ भनेर व्याख्या गरेका छन् ।
बाराको महागढीमाईमा ‘पार्टी सुदृढीकरण तथा जनसंवाद यात्रा’मा रहेका साह र यादवमाथि कालो मोसो प्रहार भएको घटनापछि अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।
फेसबुकमा पोस्ट गर्दै राउतले लेखेका छन्, ‘जनमत पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरूलाई जनताले कारबाही गरेका छन् । एघार जना माननीयहरूबाट ठगी गरिएको, बैंक भाउचरसहित प्रमाण अदालतमा पेश गरिएको छ ।’
उनले कोषाध्यक्ष यादवले पार्टीको नाममा खरिद गरिएको सम्पत्ति श्रीमतीको नाममा राखेको र पार्टीको सम्पत्तिमा बेइमानी गर्न खोजेको आरोप समेत दोर्होयाएका छन् । यही अभियोगका आधारमा यादवलाई केही समयअघि प्रहरीले पक्राउ गरी अनुसन्धानपछि धरौटीमा रिहा गरिएको थियो ।
उता, रिहा भइसकेका यादव र साहले पार्टी नेतृत्वको अधिनायकवादी प्रवृत्ति, असहिष्णुता र आर्थिक अपारदर्शिताविरुद्ध आवाज उठाउँदै जनसंवाद यात्रा थालेका थिए । तर, सोही क्रममा पार्टीकै कार्यकर्ताले उनीहरूमाथि कालो पदार्थ फ्याँकेर दुर्व्यवहार गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


