जनकपुरधाम, २९ असार । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी फागुनदेखि देशभर दोस्रोपटक आर्थिक गणना गर्ने तयारी गरेको छ । सातवटै प्रदेशका ७५३ वटै स्थानीय तहका वडास्तरबाट एकैसाथ गणना सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

पहिलोपटक आर्थिक गणना २०७५ सालमा गरिएको थियो । अब पुनः हुन लागेको यो गणना आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख शिवनारायण महतोका अनुसार देशको समग्र आर्थिक अवस्थाको विश्लेषण गर्न गणना आवश्यक भएको र यसपटक अझ विस्तृत तथ्याङ्क संकलन गरिने लक्ष्य लिइएको छ ।

पहिलो आर्थिक गणनामा देशभर ९ लाख प्रतिष्ठान फेला परेका थिए । त्यसमा ५०.१ प्रतिशत मात्र दर्ता थिए भने ४९.९ प्रतिशत प्रतिष्ठान बिना दर्ता सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यसपटकको गणनामा उद्योग, कृषि, सेवा, शिक्षा, व्यापार लगायतका क्षेत्रहरू समेटिने छन् ।

जनकपुरमा आयोजित एक छलफलमा मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकुमार सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आर्थिक गणनाले नीति निर्माणमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सरकारको नीति र योजनालाई वैज्ञानिक र तथ्यमा आधारित बनाउन आर्थिक गणना अपरिहार्य मानिएको छ । गणनाबाट प्राप्त तथ्याङ्कले स्थानीय, प्रदेश र संघ तीनै तहका बजेट तथा नीतिगत निर्णयमा भरपर्दो आधार प्रदान गर्ने विश्वास लिइएको छ ।