महिला सांसदहरू पैसा देखेपछि अरूलाई समेट्दैनन् : सभामुख मण्डल

जनकपुरधाम, २९ असार । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले महिला सांसदहरूप्रति दिएको टिप्पणीलाई लिएर विवाद उत्पन्न भएको छ ।
जनकपुरधाममा आयोजित एक छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मण्डलले महिला सांसदहरूलाई लक्षित गर्दै पैसामुखी र संकीर्ण सोच भएको आरोप लगाएका थिए ।
‘महिला सांसदहरू पैसा देखेपछि सबै आफै लिन खोज्छन्, अरूलाई समेट्दैनन्,’ मण्डलको भनाइ थियो । उनले मन्त्री बनेकी महिला सांसदहरूलाई संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
सभामुख मण्डलले सबै सांसदहरूलाई समेटेर अघि बढ्नुपर्नेमा महिलाहरू ‘मन सानो’ बनाएको जिकिर गर्दै ‘मन ठूलो बनाउन’ समेत सुझाव दिए । उनको यस अभिव्यक्तिले कार्यक्रममा सहभागी महिला नेतृहरूबीच असन्तुष्टिको वातावरण सिर्जना भएको थियो ।
उक्त कार्यक्रम ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनाअन्तर्गत फोरम फर वुमेन, ल’ एन्ड डेभलपमेन्ट, महिला कानुन र विकास मञ्चद्वारा आयोजित गरिएको थियो । कार्यक्रममा पूर्व सांसद पुष्पा भुषालले संसदीय प्रक्रिया र कानुन निर्माण सम्बन्धी प्रस्तुति दिएकी थिइन् ।
सभामुखजस्तो उच्च पदस्थ व्यक्तिबाट सार्वजनिक कार्यक्रममै महिला सांसदहरूबारे यसरी टिप्पणी गरिनु आपत्तिजनक र लज्जास्पद भएको भन्दै महिला अधिकारकर्मीहरूले खेद व्यक्त गरेका छन् । उनीहरूले सभामुख मण्डलसँग औपचारिक रूपमा माफी माग्न र आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


