जनकपुरधाम, २९ असार । धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिलाई एउटै नागरिकता नम्बर दिइएको खुलेको छ । यसका कारण दुवै व्यक्ति विभिन्न सरकारी र निजी सेवामा गम्भीर समस्या भोगिरहेका छन् ।

बटेश्वर गाउँपालिका–१, सोनापुर निवासी गणेशकुमार महतो र बटेश्वर गाउँपालिका–२, धुमासन निवासी अर्का गणेशकुमार महतो दुवैको नागरिकता प्रमाणपत्रमा १४६८२८८३ नम्बर उल्लेख गरिएको छ । नाम र नागरिकता नम्बर दुवै एउटै भएपछि उनीहरू बैंकिङ सेवा, कागजात प्रमाणीकरण र सरकारी कामकाजमा समस्यामा परेका छन् ।

सोनापुरका गणेशका अनुसार केही दिनअघि बैंकमा नयाँ खाता खोल्न गएका बेला बैंकका कर्मचारीले पहिले नै सोही नाममा खाता सञ्चालनमा रहेको भन्दै सेवा दिन मानेनन् । पछि अनुसन्धान गर्दा धुमासन निवासी गणेशकुमारको नाममा सोही नम्बरको खाता रहेकाले समस्या आएको पुष्टि भयो ।

‘मैले यही नम्बरबाट पासपोर्टदेखि सबै कागजात बनाएको छु । अहिले फेरबदल गर्नुपर्ने अवस्था आएमा विदेश यात्रा लगायतमा ठूलो समस्या पर्न सक्छ,’ सोनापुरका गणेशले गुनासो गरे ।

उता, धुमासनका गणेशकुमार महतो पनि यस्तै समस्याबाट पीडित छन् । सरकारी सेवा, बैंक तथा वित्तीय संस्थामा नागरिकता नम्बर अनिवार्य भएपछि मात्र आफूले अर्को व्यक्तिसँग नम्बर मिलेको थाहा पाएको उनी बताउँछन् । ‘कर्मचारीको लापरवाहीका कारण हामी दुबैलाई समस्या भइरहेको छ, उनले भने ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले यो घटनाबारे जानकारी पाएको र दुवै व्यक्तिको नागरिकता अभिलेख जाँच गरी वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिए ।

स्थानीय प्रशासनको लापरवाहीका कारण नागरिकहरू यति गम्भीर समस्यामा परिरहेको यस घटनाले देखाएको छ ।