जनकपुरधाम, २८ असार । मधेश प्रदेशमा समयमै वर्षा नहुँदा धान रोपाइँ कार्य प्रभावित भएको छ । असार महिनाको अन्त्यतिर पुग्दासम्म प्रदेशभर झण्डै एक तिहाइ खेतमा मात्रै रोपाइँ सम्पन्न भएको हो ।

कृषि विकास निर्देशनालयका अनुसार असार २७ गतेसम्ममा कुल रोपाइँ क्षेत्रफलको ३३.७८ प्रतिशत अर्थात् १ लाख २५ हजार ८८८ हेक्टर जमिनमा मात्र रोपाइँ भएको छ । मधेशमा कूल ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रमा धान खेती हुने गर्छ ।

वर्षा अभावका कारण प्रदेशभरि सिँचाइका लागि आवश्यक पानीको संकट गहिरिँदै गएको छ । यही अवस्थालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारको बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ । साथै, राहत र सहयोगका लागि संघ सरकारसँग औपचारिक अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेशका विभिन्न जिल्लामा रोपाइँको अवस्था फरक देखिएको छ ।

पर्सा जिल्लामा सबैभन्दा बढी ७३.३४ प्रतिशत (२९ हजार १३८ हेक्टर) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने सप्तरी जिल्लामा जम्मा १६ प्रतिशत (१० हजार ८८० हेक्टर) क्षेत्रमा मात्र रोपाइँ भएको छ ।

त्यस्तै, रौतहटमा ४५ प्रतिशत, बारा र सर्लाहीमा समान ४० प्रतिशत, सिरहामा २९ प्रतिशत, धनुषामा २५ प्रतिशत र महोत्तरीमा १८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

धान खेतीको मुख्य समय मानिने असार महिनाभर पर्याप्त पानी नपर्दा किसानहरू आकाशे पानीकै भरमा खेत जोत्न बाध्य छन् । खेतहरू सुक्खा रहेकाले उत्पादनमा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।