जनकपुरधाम, २६ असार । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजयकुमार यादवले धनुषाको मिथिला बिहारी नगरपालिका–४, रमौलमा सञ्चालन गरिएको वृक्षारोपण अभियानको स्थलगत अनुगमन गरेका छन् ।

समृद्धिको लागि वन परियोजनाको सहयोगमा स्थानीयस्तरमा गठन भएको हिल्सी बिल्सी वृक्षारोपण संरक्षण समूहको पहलमा करिब ७ सय विरुवा रोपिएको हो ।

भियान अन्तर्गत आँप, कटहर, लिच्ची, अमला, महगनी, टिक, आम्बा र वेलजस्ता विभिन्न प्रजातिका विरुवाहरू रोपिएका छन् ।

बिहीबार वृक्षारोपण स्थलमा पुगेर मन्त्री यादवले कार्यक्रमको निरीक्षण गर्दै वृक्षारोपण वातावरण सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । ‘रोपेर मात्रै पुग्दैन, संरक्षण र स्याहार पनि उत्तिकै आवश्यक छ,’ मन्त्री यादवले भने, ‘स्थानीयको सहभागिता र निरन्तरताबाट मात्रै दीगो वन संरक्षण सम्भव छ ।’

उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे । कार्यक्रममा प्रदेश वन निर्देशनालयका प्रतिनिधि, परियोजना प्रमुख, नगरप्रमुख, संरक्षण समूहका सदस्यहरूको उपस्थिति थियो ।