जनकपुरधाम, २६ असार । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नाम, लोगो र परिचय दुरुपयोग गर्दै नक्कली फेसबुक पेज बनाइएर भ्रामक सामग्रीहरू सार्वजनिक गरिएको पाइएको छ ।

यस विषयमा चिन्ता व्यक्त गर्दै प्रदेश प्रहरीले आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता नक्कली पेजहरूबाट सार्वजनिक गरिएका सामग्रीप्रति लाइक, कमेन्ट वा सेयर नगर्न अपिल गरेको छ । प्रहरीका अनुसार ’मधेश पुलिस जनकपुरधाम’ नामक नक्कली पेज प्रयोगमा ल्याइएको छ । त्यसमा नेपाल प्रहरीको लोगो र नाम दुरुपयोग गर्दै भ्रामक सूचना र अफवाहहरू फैलाइएको छ ।

प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेज ’मधेश प्रोभिन्स पुलिस अफिस, जनकपुरधाम’ रहेको र यसैबाट मात्र सूचना तथा गतिविधि सार्वजनिक भइरहेको जनाएको छ ।

प्रहरीले यस्ता नक्कली पेज सञ्चालन गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही अगाडि बढाउने तयारी गरिएको जनाएको छ । साथै, साइबर सुरक्षाका विषयमा जनसहभागिता र सचेतना अत्यावश्यक रहेको भन्दै सहयोगको अपिल पनि गरिएको छ ।

प्रदेश प्रहरीको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘नक्कली पेजहरूबाट फैलाइएका अफवाहलाई विश्वास नगर्नुहोस् । सामाजिक सञ्जालमा सतर्कता अपनाउनुहोस् ।’