जनकपुरधाम, २५ असार । धार्मिक आस्था, ऐतिहासिक गौरव र सांस्कृतिक परम्पराको प्रतीक कपिलेश्वरनाथ मन्दिरमा यस वर्षको साउने मेला विशेष आकर्षणका साथ असार ३० गतेदेखि सुरु हुने भएको छ ।

साउन महिनाको प्रत्येक सोमबार विशेष पूजाआजा र दर्शनका लागि देशभरबाट लाखौं श्रद्धालुहरू आउने अपेक्षा गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित मन्दिर परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत मेला व्यवस्थापन समितिका अध्यक्ष मनोज साहले यस वर्षको मेला विगतका वर्षहरूभन्दा बढी भव्य, व्यवस्थित र श्रद्धायुक्त हुने दाबी गरे ।

उनले भने, ‘कपिलेश्वरनाथ बाबा साक्षात् भोलेनाथको अवतार मानिन्छ । यहाँ श्रद्धा र निष्ठापूर्वक पूजा गर्ने भक्तजनको मनोकामना पूरा हुने विश्वासले वर्षेनि श्रद्धालुहरूको भीड बढ्दै गएको छ ।’

मेलामा मधेशभित्रका साथै देशका विभिन्न क्षेत्रबाट भक्तजनहरू आउने अनुमान गरिएको छ । मेला अवधिभर खानेपानी, स्वास्थ्य शिविर, ट्राफिक व्यवस्थापन, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिइने समितिले जनाएको छ ।

कपिलेश्वरनाथ मन्दिरका पूर्वअध्यक्ष सुधिर पजियारका अनुसार जानकी मन्दिर दर्शन गर्न आउने भक्तजन कपिलेश्वरनाथ मन्दिर पनि पुग्ने परम्परा छ । जानकी मन्दिरबाट झन्डै १ किलोमिटर दूरीमा रहेको यो मन्दिर विशेषगरी साउन महिनाभर शिवभक्तहरूको मुख्य गन्तव्य बन्ने गर्छ ।

धार्मिक पर्यटन प्रवद्र्धनको अवसरका रूपमा समेत मेलालाई उपयोग गरिने बताउँदै आयोजकले भक्तजनहरूलाई शान्तिपूर्ण र व्यवस्थित सहभागिताको अनुरोध गरेका छन् ।